केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भन्सार प्रमुखसहित तीन कर्मचारी कारबाहीमा

सहयात्रा टिभी

विराटनगर । माघ १७, तेस्रो मुलुकबाट प्रतीतपत्र (एलसी) मार्फत आयातित सामानको भन्सार प्रज्ञापनपत्र सिस्टममा प्रविष्ट गरेलगत्तै डिलिट गरेको आरोपमा भन्सार विभागले विराटनगर भन्सार प्रमुखसहित तीन कर्मचारीलाई भन्सार विभाग तथा अर्थ मन्त्रालयमा तानेको छ ।

एक साताअघि देव इन्टरनेसनल काठमाडौंले चीनबाट मगाएको ७३ हजार अमेरिकी डलर बराबरको जुत्ता एवं गार्मेन्टका तयारी सामान भन्सार एजेन्ट शरण खरेलमार्फत ४५ लाख राजस्व घोषणा गरेर सामान छुटाउन प्रज्ञापनपत्र दर्ता गराएको थियो । खरेलले प्रज्ञापनपत्र दर्ता गरेपछि भन्सारले सिस्टममा इन्ट्री गरेलगत्तै डिलिट गरेको भन्सार स्रोतको दाबी छ । यसपछि विभागले भन्सार प्रमुख ताराप्रसाद सापकोटालाई विभाग, अधिकृत नकुल शर्मा र नासु हिमाल दाहाललाई अर्थ मन्त्रालयमा तानेर छानबिन टोली पठायो ।

अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालको नेतृत्वमा आएको टोलीलाई भन्सारले रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान विराटनगर भन्सारमा आइनपुगेको र आईसीपीको गोदाममा पनि नभएको जवाफ दिएको थियो । स्रोतले भन्यो, ‘त्यसपछि टोलीले गोदामको परीक्षण गर्दा रद्द गरिएको प्रज्ञापनपत्रमा घोषित सामान फेला पारेपछि १ करोड २५ लाख राजस्व लिएर छाडेको थियो ।’

कोलकाता बन्दरगाहले उक्त सामान उल्लेख गर्दै विराटनगर नाकाका लागि कस्टम ट्रान्जिट डिक्लियरेसन (सीटीडी) फर्म जारी गरेको थियो । एलसी खोलेर मगाइएको विदेशी सामान नआए विदेशी मुद्रा अपचलनको अभियोग लाग्ने र वस्तु आयात भएर भन्सार छले राजस्व अपचलनको अभियोग लाग्ने स्रोतको भनाइ छ । दाहाल नेतृत्वको टोली फर्किसकेको छ । यस विषयमा भन्सारका कुनै पनि अधिकृतले प्रतिक्रिया दिन चाहेनन् । आयातकर्ताका भन्सार एजेन्टले उक्त प्रज्ञापन पत्र दर्ता गरेर त्यसमा उल्लिखित सामान आधा मात्र आइपुगेको र आधा आउन बाँकी रहेको भनेपछि सिस्टममा इन्ट्री भएको प्रज्ञापनपत्रलाई टिप्पणी उठाएर रद्द गरिएको एक अधिकृतको दाबी छ ।

विराटनगर भन्सारले चालु वर्षको ६ महिनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ । सामानको न्यून मूल्यांकन गरेर भन्सार जाँचपास गर्नु र जाँचपास नै नगरी सामान छाडेर राजस्व छली गर्नु भन्सारको पुरानै रोग भएको सम्बद्ध स्रोतको दाबी छ । सात वर्षअघि पनि भारतबाट आएको एक ट्रक ट्रेडिङका सामान भन्सार जाँचपास नै नगरी कर्मचारीले छाडेपछि प्रहरीले बजारबाट नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो ।

प्रकाशित : 31 January, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्