त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य
काठमाडौँ । फागुन २८, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २ सय ४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए ।
यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २र२ विकेट लिए ।
नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यो शृङ्खला क्रिकेट लिग–२ को अन्तिम शृङ्खला हो । नेपालले यो शृङ्खलाको पहिलो खेलमा यूएईलाई ५२ रनले हराएको थियो । आजको खेल जितेमा नेपालको एकदिवसीय मान्यता कायम हुनेछ ।
नेपालले सोझै विश्व कप छनोट कायम गर्न भने योसहित ३ वटा खेल जित्नुपर्ने हुन्छ । नेपालले भोलि पीएनजीसँग र बिहीवार अन्तिम खेलमा यूएईसँग खेल्नेछ ।