नेपाल र यूएईबीचको खेलको टिकट बिक्रीबाट उठेको रकमले क्रिकेट खेलाडी कल्याणकारी कोष बनाइने
काठमाडौं । चैत १, नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम जम्मा गरेर क्यानले कल्याणकारी कोष बनाउने भएको हो ।
लिग टुको अन्तिम खेलमा नेपाल र युएईले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छन् । क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर अहिलेसम्म क्यानले कुनै कोष बनाएको थिएन ।
क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले अब कोषको आवश्यकता पनि महसुस गरेर नेपाल र बीचको खेलको टिकटबाट उठेको रकम जम्मा गरेर कोष बनाउन लागेका जानकारी दिए ।
युएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाउने उनले बताए । कोषको मुख्य उद्देश्य आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्नु रहेको उनले बताए ।
नेपाल र युएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० र गेटमा किन्दा १५० मा बेच्ने गरेको क्यानले जनाएको छ ।