नापोली पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौं । चैत २, इटालियन क्लब नापोली पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा जर्मन क्लब एनट्राट फ्रान्कफुर्टलाई ३-० ले पराजित गर्दै नापोली समग्रमा ५-० ले विजयी भएको हो ।
घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा नापोलीको सहज जितमा भिक्टोर ओसिमहेनले दुई तथा पिटर जेलिन्स्कीले एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका ओसिमहेनले ५३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । जेलिन्स्कीले ६४ औं मिनेटमा नापोलीका लागि तेस्रो गोल गरे । पहिलो लेगमा नापोलीले फ्रान्कफुर्टलाई २-० ले हराएको थियो ।
इटालियन सिरी ए मा शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको नापोली यस सिजन उत्कृष्ट लयमा छ । यस पटक इटलीबाट तीन क्लब च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि नै एसी मिलान र इन्टरले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।