उत्कृष्ट प्रस्ताव पेश गर्ने शिक्षकलाई मात्र हेडमास्टर नियुक्ति
काठमाडौँ । चैत २८, पोखराका स्कुलहरूमा अब हेडमास्टर बन्न उत्कृष्ट प्रस्ताव पेश गर्ने शिक्षकलाई मात्र नियुक्ति दिने निती ल्याएको छ ।
कम्तीमा एक वर्ष र बढीमा तीन वर्षका लागि विद्यालय विकास योजना पेश गरेका शिक्षकलाई हेडमास्टर बनाउने निर्णय महानगरले गरेको छ।
पोखरा महानगरको नगर शिक्षा परिषद र शिक्षा समितिको चैत २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। हेडमास्टर बन्न उत्कृष्ट प्रस्ताव पेश गरेका शिक्षकलाई नियुक्ति दिन बैठकले समितिसमेत गठन गरेको छ।
महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा टेकराज अधिकारी, डोलराज पाण्डे, नवराज पौडेल, कृष्णबहादुर नेपाली र रवीन्द्र भट्टराई सदस्य छन्। उनीहरूले हेडमास्टर बन्न प्रस्ताव पेश गरेका शिक्षकलाई नियुक्त गर्न महानगरलाई सिफारिस गर्न सक्नेछन्। यस्तै, हेडमास्टरको सेवा सुविधा पनि सिफारिस गर्न समितिलाई कार्यादेश दिएको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यस्तो निर्णय गरेको महानगरका मेयर धनराज आचार्यले बताए। उनले अब वार्षिक योजना र कार्यक्रमका आधारमा मात्र हेडमास्टर नियुक्त गरिने बताए।
मेयर आचार्यको अध्यक्षतामा चैत २३ गते बसेको बैठकले कक्षा ११ को भर्ना गर्न कुनै पनि प्रकारको ब्रिज कोर्स चलाउन नपाउने निर्णय गरेको छ। यस्तै, विद्यालय हाताभित्र पाठ्यपुस्तक, पोशाक र अन्य शौक्षिक सामाग्रीको व्यापार गर्न पाउने छैन।
बैठकले पोखराका स्कुलहरूले २० वर्ष भन्दा पुरानो बस चलाउन नपाउने निर्णय पनि गरेको छ। स्कुल बस पुरानो हुँदा धुँवा बढी निकाल्ने र विद्यार्थीलाई असर पार्ने गरको गुनासो छ। स्कुल बस सञ्चालन गर्दा १ घन्टा ३० मिनेटभन्दा लामो समय लाग्ने गरी चलाउन नपाउने पनि निर्णयमा भनिएको छ।
स्कुलबाट सय मिटर वरिपरि सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री वितरण रोक्न निर्देशन दिएको छ। पोखराका विद्यालय वरिपरि मदिरा र सुर्तीजन्य पदार्थको बिक्री भइरहेको भन्दै शिक्षा परिषद र समितिले उक्त निर्देशन दिएको हो। उक्त निर्देशनहरू पालना नगरे कारबाही गर्ने मेयर आचार्यले चेतावनी दिएका छन्।