श्रीलङ्काले लोपोन्मुख प्रजातिको बाँदर चीनलाई बेच्ने तयारी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । चैत ३०, श्रीलङ्काले लोपोन्मुख प्रजातिको एक लाख वटा बाँदर चीनलाई बेच्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।
श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
श्रीलङ्काले प्राय सबै प्रकारका जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय खराब आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले बाँदर बिक्रीबाट अर्थतन्त्रमा केही योगदान पुग्ने आशा लिएको छ ।
बाँदर बिक्रीका लागि चीनबाट आएको प्रस्ताव सार्वजनिक गरिए पनि कति मूल्यमा बाँदर बेच्ने भन्नेबारे सार्वजनिक गरिएको छैन । श्रीलङ्काका कृषिमन्त्री महिन्दा अमरवीराले चीनमा चिडियाखानामा राख्नका लागि बाँदर लैजाने योजना रहेको जनाउँदै यसबारे अध्ययनका लागि समिति गठन गरेको बताउनु भएको छ ।
आईयूसीएनको तर्फबाट भने तत्काल कुनै पनि प्रतिक्रिया आएको छैन । श्रीलङ्का सरकारको तथ्याङ्कमा ‘टोक मकाक’को सङ्ख्या २० लाखदेखि ३० लाखको बीचमा रहेको अनुमान गरिएको छ ।