युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालको तीन सहरमा हुने
काठमाडौँ । बैशाख १२ , नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालको तीन सहर र तीन चरणमा हुने भएको छ ।
काठमाडौंस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यबाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन् ।
जोएलका अनुसार फिल्म महोत्सवको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ गतेसम्म चल्नेछ ।
दोस्रो चरणमा फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना हुने भएको छ । फेस्टिभलको अन्तिम प्रदर्शनी चलचित्र विकास बोर्डको हलमा वैशाख २९ देखि जेठ १ गतेसम्म आयोजना हुनेछ ।
फेस्टिभलको मूल विषयवस्तु ‘सबैका लागि मानव अधिकार’ तय गरिएको छ । ‘फेस्टिभलको उद्देश्य मानवअधिकारको बारेमा सचेतना अभिवृद्धि गर्नु हो,’ युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले बताइन् ।