चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

दार्चुला । बैशाख २६, शैल्यशिखर नगरपालिका-३ मा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे ६ बजेतिर परेको चट्याङ लागेर दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेलुकातिर खेतमा काम गरिरहेको अवस्थामा चट्याङ परेको थियो। उक्त चट्याङ लागेर संगै काम गरिरहेका एकै घरका तीन जना घाइते भएका थिए । घाइतेमध्ये गोकुलेश्वर अस्पतालमा पुर्याइएका १५ वर्षीय नरेश खत्रीको मृत्यु भएको हो ।
शैल्यशिखर नगरपालिका – ३ दार्माका मृत्तक खत्रीसंगै खेतमा काम गरिरहेका उनकी आमा ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री समान्य घाइते भएका छन् । उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।