यस सिजन सकिएपछि चेल्सीले नयाँ म्यानेजरमा पोचेटिनोलाई नियुक्त गर्ने

काठमाडौँ । बैशाख ३१, प्रिमियर लिग क्लब चेल्सीले यस सिजन सकिएपछि टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने भएको छ ।
चेल्सीले पोचेटिनोसँग यस सम्बन्धी सहमति गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पोचेटिनोले सिजन सकिएपछि लण्डन क्लब चेल्सी जानेछन् ।
फ्रांक लाम्पार्ड यस सिजनको अन्त्यसम्म अन्तरिम म्यानेजर नै रहनेछन् । लगातार छलफलपछि पोचेटिनो चेल्सीको म्यानेजर बन्न सहमत भएको गार्डियनले जनाएको छ ।
प्रिमियर लिगकै साउथह्याम्पटनको प्रशिक्षक रहिसकेका पोचेटिनो गत वर्ष पेरिस सेन्ट जर्मेन छाडेपछि काम विहीन छन् ।
५१ वर्षीय अर्जेन्टाइन पोचेटिनोले सन् २०१४ देखि २०१९ सम्म टोटनहमको प्रशिक्षकको रुपमा काम गरेका थिए जहाँ उनले टोटनहमलाई सन् २०१९ च्याम्पियन्स लिगको फाइनलमा समेत पुर्याएका थिए ।