सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा
काठमाडौँ । जेठ ३, सुनकोशी तेस्रो ६८३ मेगावाटको जलविद्युत आयोजना नेपाल र बंगलादेशको संयुक्त लगानीमा बनाउने निर्णय भएको जानकारी प्राप्त भएको छ ।
सोमबार र मंगलबार बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी तेस्रो जलविद्युत आयोजनाको निर्माण र विकासका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय भएको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘सुनकोशी-३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर गर्ने ।’
नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो ।