दोषीलाई सरकारको आममाफीले बनायो पीडितहरुलाई निशब्द

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, टीकापुर घटनाका दोषीलाई सरकारको आममाफीले पीडितहरुलाई निशब्द बनाएको जनाएका छन् ।

रेशम चौधरीलाई आममाफी दिएर सरकारले आफूहरुमाथि अन्याय गरेको टीकापुर घटनाका पीडितहरुले बताएका छन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम, सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि सोमबार बिहान मात्र छुटेका छन् ।

टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा भने अदालतले दोषी ठहर गरेका रेशमलाई रिहा गरेर आफूहरुलाई अपराधी करार गरिदिएको बताउँछिन् ।

‘यो विषयमा बोल्ने कुनै शब्द नै छैन,’ पीडितको गुनासो छ । ‘सरकारले सत्ता टिकाउन जे पनि गरिदिने रु सरकारले हामीलाई अपराधी घोषणा गरेको छ ।

रेशम पीडित र हामी पीडक भयौं ।’ टीकापुर घटनामा ज्यान गुमाएका टीकापुरका १८ महिने बालक टेक साउदका बाजे जंगबहादुरले सरकारको निर्णय अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनले अदालतले गरेको निर्णय सरकारले कुल्चिने भए कारागार र अदालत नै राख्नन नहुने तर्क पनि गरे ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा बालक साउद र नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो ।

टीकापुर घटनामा ज्यानगुमाएका प्रहरी निरीक्षक बलराम विष्टकी छोरी जानुले पनि सरकारले रेशम चौधरीलाई रिहा गरेपछि स्तब्ध भएको बताइन् । तीनतहका अदालतले न्याय दिए पनि सरकारले आफूहरुमाथि अन्याय गर्दै पीडा थपिदिएको उनी बताउँछिन् ।

सर्वोच्च अदालतले २ जेठमा रेशमको जन्मकैद सदर गरेको थियो । लगतै रेशमले बाँकी कैद सजाय माफी मिनाहका लागि निवेदन दिएपछि शारदा पनि त्यसलाई रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुगिन् ।

त्यसकाका बावजुद सरकारले आममाफीका लागि सिफारिस गरेपछि शारदा रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेकी थिइन् । तर उनको रिट दर्ता प्रक्रियामै रहेका बेला राष्ट्रपतिबाट माफी पाएर रेशम छुटेका छन् ।

 

प्रकाशित : 29 May, 2023

प्रतिक्रिया दिनुहोस्