दादुरा सङ्क्रमणबाट १६ जिल्लाका हजारभन्दा धेरै बालबालिकाहरु प्रभावित

काठमाडौं । जेठ ३१, दादुरा सङ्क्रमणबाट१६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका प्रभावित भएका छन् ।
स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाण्डौ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण पुष्टि भएको छ ।
यी १६ जिल्लामध्ये बाँके, कैलाली, सुनसरी र महोत्तरीमा जोखिम धेरै रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो ।
उहाँका अनुसार प्रकोप धेरै देखिएका यी चार जिल्लामा दादुरा विरुद्धको खोप लगाउन छुटेका २ लाख १५ हजार भन्दा धेरै बालबालिकालाई खोप दिइएको छ । छुटेका अन्य बालबालिकाको पनि खोजी भइरहेको छ ।
यस्तै, अहिले खोप अभियान चलिरहेको ९ जिल्ला मोरङ, सुनसरी, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा पनि खोप लगाउन छुटेका बालबालिकाको खोजी भइरहेको छ ।
यी जिल्लाका १६ लाख ८० हजार भन्दा धेरै बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो ।
उहाँका अनुसार दादुराको संक्रमण रोकथामका लागि जोखिममा रहेका बालबालिकालाई खोप लगाउनुपर्छ । दादुराको संक्रमण भइसकेकालाई भने खोप दिनु हुँदैन । उनीहरुको स्वास्थ्यमा देखिएको लक्षणका आधारमा उपचार गर्नु पर्ने डाक्टर लालले जानकारी दिनुभयो ।