विद्यालय कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

काठमाडौं । जेठ ३२, विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप भएको जानकारी प्राप्त भएको छ ।
देशभरका विद्यालय कर्मचारीहरु पियन, लेखापाल लगायतका कर्मचारीले निजामती कर्मचारीसरह सेवा सुविधा आफूहरुलाई पनि दिनुपर्ने माग राख्दै आएका छन् । कर्मचारीले विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।
नेपाल विद्यार्थी कर्मचारी परिषदको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किदै गर्दा बीच सडकमा बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।
त्यस क्रममा प्रहरीले सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ ।