मेयर बालेनको अभिव्यक्तिपछि काठमाडौंमा रोकियो ‘आदिपुरुष’ को बिहानी ‘शो’

सहयात्रा टिभी

काठमाडौं । असार १, भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको अभिव्यक्ति र विवादका कारण काठमाडौंका हलमा आज बिहानको ‘शो’ रोकिएको छ ।

चलचित्र संघको निर्देशनमा उपत्यकाका सबै फिल्म हलले आदिपुरुषको बिहानको शो रोकेका हुन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका छन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।

आदिपुरुषमा समावेश शब्दलाई लिएर मेयर बालेन शाहले आपत्ति जनाउँदै उक्त शब्द नसच्चिएसम्म काठमाडौं महानगर भित्रका कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमार्फत आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्रै नभई भारतमा पनि सच्याउन ३ दिनको समय दिइएको उल्लेख गर्दै नसच्याएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका थिए ।

उनको अभिव्यक्ति र विकसित घटनाक्रमपछि सुरक्षा त्रासका कारण आदिपुरुषको शो रोकिएको छ । बिहानी शो रोकिएपछि प्रभासका फ्यानहरु निराश बनेका छन् भने कतिपय हलमा आएर फर्किनु परेको छ । बिहानी शो रोकिएपछि चलचित्र संघले आकस्मिक बैठक बोलाएको छ। बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

आदिपुरुषमा समावेश शब्दलाई लिए नेपालका केही सांसद र दलको भ्रातृ संगठनका नेताहरुले पनि विरोध जनाइरहेका छन् ।

नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।

उक्त संवादप्रति अहिले नेपालभित्र चर्को आलोचना भइरहेकेै बेला मेयर बालेनले आफ्नो क्षेत्राधिकारबाहिर गएर अभिव्यक्ति दिएको भनेर टिप्पणी भइरहेको छ ।

नेपालको संविधानले अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूचीसम्बन्धी व्यवस्था गरेको छ। जसअनुसार बालेनको उक्त अभिव्यक्ति संविधानभन्दा बाहिर रहेको देखिएको छ। संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार क्षेत्रबारे लेखिएको छ। जहाँ स्थानीय तहको अधिकार क्षेत्र भनेको मात्र कर लिने उल्लेख छ। बालेनको कदमलाई कतिपयले सस्तो लोकप्रियतासमेत भनेका छन् ।

बिहानी शोमा बिक्री भइसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने व्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातिसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट बिक्री भइसकेको देखिएको छ ।

आदिपुरुष आजदेखि भारतका साथै विश्वभर प्रदर्शनमा आएको हो । प्रभास र कृति सेनन स्टारर आदिपुरुष रामायणको कथावस्तुमा आधारित छ । यो फिल्मलाई नेपालमा ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्न लागेको हो ।

प्रकाशित : 16 June, 2023

प्रतिक्रिया दिनुहोस्