बाढी पूर्वानुमान बुलेटिन :अझै तीन दिन उच्च जोखिम १२ जनाको उद्धार 

सहयात्रा टिभी

काठमाडौँ । असार ४,  शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो ।


अझै तीन दिन ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता भएका छन् ।

बेपत्ता मध्ये पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

महाशाखाका अनुसार तीन दिनसम्म तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने छ । त्यसले क्षति पुर्‍याउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आज दिउँसो बाढी पूर्वानुमान बुलेटिन जारी गरेको छ । बुलेटिनमा देशभरका नदीहरुको अवस्थाबारे उल्लेख छ । तीमध्ये आज, भोलि र पर्सि तमोर, अरुण र कन्काइ नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

 

प्रकाशित : 19 June, 2023

प्रतिक्रिया दिनुहोस्