लागूऔषध नियन्त्रण ब्यूरोद्धारा हालसम्मकै धेरै एलएसडी ड्रग बरामद

सहयात्रा टिभी

काठमाडौं । असार ८,  नेपालमा हालसम्मकै ठूलो परिमाणमा अवैध लागूऔषध लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले चलाएको विशेष अपरेशनका क्रममा प्रहरीले १० हजार १३० पिस एलएसडीसहित ५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार प्रहरीले ५ असारमा ठमेलबाट सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेको थियो ।

उनीमार्फत अनुसन्धान गर्दै जाँदा ठमेलबाट मुखिया गुरुङ, पोखराबाट चेक रिपब्लिकन नागरिक मार्टिन सेरना र बचन भन्ने राज गौतम पक्राउ परेका थिए ।

सेरना र गौतमको बयानका आधारमा प्रहरीले गिरोहका मुख्य व्यक्ति इटालियन नागरिक डेबिड मण्डियोलाई पक्राउ गरेको जोशीले बताए । सन् १९६०/७० को दशकमा हिप्पीहरुले नेपालमा लागूऔषध एलएसडी भित्र्याएको मानिन्छ ।

तर, पछिल्ला वर्षहरुमा नेपालमा एलएसडीको प्रयोग भएको देखिएको थिएन । निकै महँगो पर्ने र स्टिकरका रुपमा विक्री वितरण गरिने यो लागूऔषध नेपालका ट्रान्सपार्टी (लागूऔषधको पार्टी) मा प्रयोग हुने गरेको आशंका गरिएको जोशी बताउँछन् ।

ब्यूरोका अधिकृतहरुका अनुसार बरामद एलएसडी स्थलमार्गमार्फत भारतबाट नेपाल ल्याइएको अनुसन्धानका क्रममा खुलेको छ ।

ब्यूरोले एलएसडी कारोबारमा संलग्न पाँचै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

एलएसडी स्ट्याम्प आकारको कागजको टुक्रामा राखेर प्रयोग गरिन्छ । ‘झट्ट हेर्दा हुलाकको टिकट जस्तो देखिन्छ, यसको प्रयोगबाट मानिस एकदम भ्रममा जान्छ, अनेकथोक कल्पना गर्छ’, ब्यूरोका पूर्वनिर्देशक ठकुरी पनि भन्छन्, ‘यो ड्रग प्रयोग गर्ने धेरैमा सुसाइडको ट्रेन्ड पनि देखिन्छ । झुण्डिने, माथिबाट हाम फाल्ने जस्ता घटना यसको प्रयोगकर्ताले गरेको देखिएका छन् ।’

नेपालमा बरामद एलएसडीको बजार मूल्य दुई करोड रुपैयाँभन्दा बढी छ ।

प्रकाशित : 23 June, 2023

प्रतिक्रिया दिनुहोस्