आत्मदाहको प्रयास गरेका निरज कामतले पनि पाए नागरिकता
काठमाडौँ । असार ११, नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका– ४ का निरजकुमार कामतले पनि वंशजको नागरिकता पाएका छन् ।
नागरिकता पीडित संघर्ष समितिको आन्दोलनका क्रममा ३० जेठमा कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । सोमबार उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रदान गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्बोच्च अदालतले रोक लगाएपछि भएको प्रदर्शनका क्रममा निरजले आत्मदाह प्रयास गरेका थिए । उनी नागरिकता पीडित संघर्ष समितिका उपाध्यक्षसमेत हुन् ।
निरजले नेपाली नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरेको बताए ।
निरजका हजुरबुवाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । हजुरआमाको वंशजकै नागरिकता थियो । राजमिस्त्री काम गर्ने बुबा किसुनदेवले पनि जन्मकै आधारमा नागरिकता पाएका थिए । उनकी आमा गुलाबदेवी चौधरीको भने वंशजको नागरिकता छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई सोमबारदेखि नागरिकता वितरण गर्न थालेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि नागरिकता लिन पुग्नेहरुको संख्या बढेको छ ।