एन्फा र क्लबबीचको विवादले राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित

सहयात्रा टिभी

काठमाडौँ । जेठ १९, नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीको बन्द प्रशिक्षण स्थगित भएको जनाएको छ ।

आगामी असार ६ गतेदेखि भारतमा सुरु हुने साफ च्याम्पियनसिप र त्यसको तयारीका लागि जेठ ३२ गते फिलिपिन्ससँग हुने मैत्रीपूर्ण खेलका लागि हिजोबाट प्रशिक्षण सुरु भएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग जारी रहेको समयमा खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएको भन्दै फुटबल क्लबहरूले असहमति जनाएपछि प्रशिक्षण बन्द गरिएको हो ।

क्लबहरूको विज्ञप्ति पछि एन्फाले ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रिय टोलीको आजको प्रशिक्षण पूर्वनिर्धारित समयमा हुने र त्यसपछिको प्रशिक्षण बन्द गर्ने जनाएको छ । लिग चल्दाचल्दै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी फुकुवा गर्न भनेपछि क्लबहरू असन्तुष्ट बनेका हुन् ।

क्लबहरूले लिगको तयारी खर्चको दोस्रो किस्ता, म्याच मनी, म्यान अफ द म्याचलगायत रकम उपलब्ध नगराएसम्म आजदेखि विरोध स्वरूप सबै खेलाडी र पदाधिकारीले कालो पट्टि लगाएर खेल्ने निर्णयसमेत गरेका छन् ।

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्