लम्पी स्किन रोग महामारी ४० जिल्लामा फैलिदो भएनि मानिसमा नसर्ने

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, नेपालमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग महामारीका रुपमा फैलिएको तर मानिसमा नसर्ने रहेको तथ्याङ्कले जनाएको छ ।

पशु सेवा विभागका अनुसार गर्मीयाम सुरु भएसँगै देखा परेको यो रोग अहिले देशभर फैलिएको छ । अहिले देशका ४० जिल्लामा झण्डै ४ देखि ५ लाख पशुचौपायामा सङ्क्रमण फैलिएको विभागको तथ्याङ्क छ ।

त्यस्तै, ६ हजारभन्दा धेरै सङ्क्रमित पशु चौपाया मरेका छन् । ७ वटै प्रदेशका गरी ३ सय ५० पालिकामा रोग देखिएको विभागले जनाएको छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या पनि बढ्ने र ती किरा सक्रिय हुने भएकाले जोखिम कायमै छ ।

आफूले पालेका पशुचौपायामा लम्पी स्किन रोग देखिएपछि किसान चिन्तित बनेका छन् । विभागका वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र ढकालका अनुसार गाईभैँसीमा लाग्ने सङ्क्रामक यो रोग मुख्य गरी लामखुट्टे, किर्नाजस्ता किराको टोकाइबाट सर्ने गर्छ ।

अहिले उच्च गर्मी र लामखुट्टे तथा किर्ना सक्रिय हुने बेला भएकाले पनि पशुचौपाया जोखिममा परेका डा. ढकाल बताउनुहुन्छ ।

लम्पी स्किन रोगको सङ्क्रमण भएका धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने हुँदा किसानलाई आर्थिक रुपमा क्षति हुने गरेको छ ।

यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । सङ्क्रमित गाईभैँसीको मुख, नाक, खुट्ट तथा छालामा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।

तर यो रोग रोगी पशुचौपायाबाट मानिसमा नसर्ने अनि रोगी गाईभैँसीको दूध प्रयोग गर्दा पनि मानिसमा कुनै जोखिम नहुने भएकाले दूध खेर फाल्नु नपर्ने डा।ढकालको भनाइ छ । ‘रोगी पशुको शरीरभरि घाउ नै घाउ भएको देखेपछि दूध दुहेर खान मन नलाग्नु स्वाभाविक हो, उहाँले भन्नुभयो,‘दूध खानु हुँदैन भन्ने कुरा वैज्ञानिक अध्ययनबाट प्रमाणित भएको छैन । राम्ररी उमालेर खान सकिन्छ ।’

तर सङ्क्रमित गाईभैँसीको ओसारपसार र उनीहरुसँग हुने लसपसबाट स्वस्थ पशुमा सर्ने सम्भावना उच्च हुन्छ । किसान आफैँले तथा उपचारमा संलग्न प्राविधिकले निसङ्क्रमणका उपाय अपनाउनुपर्नेमा उहाँको जोड छ ।

 

 

प्रकाशित : 2 June, 2023

प्रतिक्रिया दिनुहोस्