सुनकोशीमा बेपत्ता भएका सिटिइभिटीका अधिकारीहरुको अझै खोजी

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ ।

घटना भएको पाँचौँ दिनसम्म ती अधिकारीहरूको अवस्था अज्ञात छ ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । उनीहरु सबै बेपत्ता छन् । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैं पौडिएर निस्किएका थिए ।

खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ ।

प्रकाशित : 6 June, 2023

प्रतिक्रिया दिनुहोस्