राणाकालीन चुरियामाई सुरुङ मार्ग वारपार गर्न मिल्ने भयो

सहयात्रा टिभी

काठमाडौँ । जेठ २४, राजधानी काठमाडौंलाई मकवानपुरको हेटौंडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको चुरियामाई सुरुङ मार्गबाट वारपार गर्न सकिने भएको छ ।

दक्षिण एसियाकै पहिलो मानिने यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो । त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मीले जानकारी दिए ।

यो सुरुङ मार्ग ऐतिहासिक भएकाले सवारी साधन सन्चालन भन्दा पनि पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझा बताउँछन् ।

चुरियामाई सुरुङ विक्रम संवत् १९७४ मै बनेको थियो । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गरेका थिए । चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ ।

माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्गडम अफ नेपाल’मा पनि चर्चा गरेका छन् ।

उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गरेका छन् । भारतमा पनि नबनेको यस्तो सुरुङ मार्ग नेपालमा देख्दा आफू अचम्मित र खुसी भएको टोनी हेगनले उल्लेख गरेका छन् ।

राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन ।

त्यसैले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो सीधा सुरुङ मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरुले मकवानपुरको भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौंसम्म सामान भित्राइन्थ्यो ।

प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसैक्रममा यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो ।

त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको भौतिक पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए ।

 

प्रकाशित : 7 June, 2023

प्रतिक्रिया दिनुहोस्