शर्माद्धारा बजेटबारे प्रतिपक्षी दलका नेता ओलीसँग प्रतिवाद

काठमाडौं । जेठ २६, पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलका नेताको प्रतिवाद गर्दै चालु आर्थिक वर्षको बजेटको बचाउ गरेको जनाएको छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चालु आबको बजेट फेल भएको मात्र होइन, शून्य अंक दिने बताएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री शर्माले ओलीको प्रतिवाद गरे । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै शर्माले आफ्नो बजेटलाई शून्य अंक दिने ओलीको मूल्यांकन सत्ताबाट विमुख हुनु पर्दाको पूर्वाग्रह र प्रतिशोधयुक्त मात्र भएको बताए । उनले उच्चस्तरीय आयोग नै बनाएर विगत १० वर्षको बजेटका समीक्षा गर्न समेत चुनौती दिएका छन् ।
चुनावी वर्ष भएकाले निर्वाचन आचार संहिता लगायतका कारण सुरुवातमै बजेट कार्यान्वयमा केही समस्या भएको र राजनीतिक समीकरणमा आएको हेरफेरले पनि असर गरेको उनले बताए ।
यद्यपि आफूले ल्याएको बजेट समृद्ध देश बनाउने योजनाका साथ आएको उनको दाबी छ । समृद्ध देश बन्नलाई जीडीपी बढ्नुपर्ने र उत्पादनले मात्र जीडीपी बढ्ने भन्दै उनले आफूले ल्याएको चालु आबको बजेटका केही योजनाको स्मरण समेत गरेका छन् ।
हालसम्म बजेट निर्माण गर्दा कहाँ–कहाँ सूचना चुहावट भएका छन् भन्ने छर्लंग रहको भन्दै उनले भने, ‘मेरो प्रस्ताव छ– २०४६ सालपछि ८० सम्मको सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ती छानबिन आयोग बनाऊ । तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिएको नाटक नगरौं ।’