सांसदहरूको कुनै हैसियत नभएको भन्दै सांसद दीपक गिरीले झोलेको संज्ञा

काठमाडौं । जेठ २८,नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरूको कुनै हैसियत नभएको भन्दै झोले सांसदको संज्ञा दिनुभयो ।
आज आइतवारको प्रतिनिधि सभा बैठकमा सांसद गिरीले सांसदहरूलाई झोले सांसदको संज्ञा दिनुभएको हो ।
उहाँले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरूलाई वडाअध्यक्षको स्तरमा पुर्याइदिएको भन्दै शाहलाई सलाम अर्पण गर्नुभयो ।
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाण्डौका मेयर शाहले सांसदहरू वडाध्यक्षको तहमा आइपुगेको टिप्पणी गर्नुभएको थियो ।
यस्तै सांसद गिरीले आउँदो आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभयो । उहाँले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आउँदो आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताउनुभयो ।
तत्कालीन भारतमा कम्पनी सरकार रहँदा बेलुका ४ बजे घोषणा गर्नुको रहस्य बेलायतमा बिहान १० बजेको हुने र ब्रिटिशहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उहाँको भनाइ छ ।