तनहुँमा लम्पी स्किन रोगबाट पशुलाई बचाउन खोप सुरु

काठमाडौं । जेठ २९,तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो ।
गाउँपालिकाले सात वटै वडामा पालिएका पशुलाई खोप लगाउन सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ ।
पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रूपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालन गरिएको छ ।
गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उहाँले बताउनुभयो । सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरूसँग नरहेको डा. शाहको भनाइ छ । उहाँका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएका पशुको उपचार पनि भइरहेको छ ।
गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा। शाहले बताउनुभयो । उहाँका अनुसार यो रोग देखिएपछि दूध उत्पादनमा कमी आउनुका साथै प्रजनन समस्या आउने तथा गर्भपतन हुनसक्ने सम्भावना रहन्छ ।