बालुवाटारमा बजेटबारे गठबन्धनको असन्तुष्टिलाई सम्बोधन गर्दै बैठक

काठमाडौं । जेठ ३०, बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै र सामूहिक छलफल थालेका हुन् ।
गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपाका नेताहरूले सार्वजनिक रूपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी नै दिएका छन् ।