युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्कियो

सहयात्रा टिभी

काठमाडौँ । असार १७, प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ ।

 

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पेरिसवासीलाई घर बाहिर निस्किन बन्देज लगाइरहेको बेला फ्रान्सको दक्षिणी शहर मार्सेलीमा पनि हिंसा फैलिएको छ ।

त्यहाँ शनिबारदेखि नै हिंसा जारी छ । त्यहाँको भिडियो फुटेजमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको र मानिसहरुबीच भागदौड मच्चिएको देखिन्छ । हिंसा फैलाएको आरोपमा हालसम्म ५६ जना पक्राउ परिसकेका छन् ।

स्थानीय मिडियाहरुका अनुसार प्रहरी र प्रदर्शनकारीले एकअर्कामाथि आक्रमण जारी राखेका छन् । सामाजिक सन्जालमार्फत् आह्वान गर्दै मानिसहरु एकजुट भएर प्रदर्शन गरिरहँदा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।

आन्दोलनकारीहरु झनै उग्र बन्दै गएको देखिन्छ । समाचार संस्था एएफपीका अनुसार दंगाको पाँचौं दिन प्रदर्शनकारीले पेरिसका मेयरको घरमा पसेर कारमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीको हमलामा परी मेयरका श्रीमती र एक बच्चा घाइते भएका छन् । मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीट गरेर परिवार सुतिरहेको बेला प्रदर्शनकारीले घरमा आगजनीको प्रयास गरेको बताएका छन् ।

फ्रान्सका विभिन्न सडकमा अहिले करिब ४५ हजार प्रहरी स्थिति नियन्त्रणका लागि परिचालित छन् ।

प्रकाशित : 2 July, 2023

प्रतिक्रिया दिनुहोस्