नेपाल भ्रमणको तयारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

सहयात्रा टिभी

काठमाडौँ । असार १९, अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणको तयारी गर्दै गरेको जानकारी प्राप्त भएको छ ।

कूटनीतिक स्रोतका अनुसार लू यही जुलाई महिनाभित्र नेपाल भ्रमणमा आउने निश्चित भए पनि अहिलेसम्म मिति तय भएको छैन ।

लू अमेरिकी विदेशमन्त्रालयका प्रभावशाली सहायकमन्त्रीमध्येका हुन् । उनले यसअघि पनि दुईपटक नेपालको भ्रमण गरिसकेका छन् । उनी नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितको चरणमा रहेको अवस्थामा अमेरिकाबाट तारन्तार भएका भ्रमणको क्रममा नेपाल आइपुगेका थिए ।

नेपालमा एमसीसी परियोजना पारित गराउन महत्वपूर्ण भूमिका खेलेका लू सो समयमा नेपाल आएपछि एसपीपी परियोजनामा पनि नेपालले पूनर्विचार गर्नसक्ने आशंका गरिएको थियो । यद्यपि, उनले त्यस विषयमा खासै छलफल गरेका थिएनन् ।

नेपालको संसदबाट एमसीसी पारित हुनुपूर्व १ मंसिर २०७८ मा आउँदा उनले समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल-अमेरिका सम्बन्धका विषयमा छलफल गरेका थिए ।

त्यसपछि एमसीसी पारित हुने विषयमा नेपालमा चर्को बहस भइरहेको अवस्थामा सोही वर्षको २७ माघमा एकै दिन लूले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए ।

 

प्रकाशित : 4 July, 2023

प्रतिक्रिया दिनुहोस्