सुदूरपश्चिमका सांसदले देउवासँग राखे बजेट संशोधनको माग

सहयात्रा टिभी

काठमाडौं । असार २२, सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् ।

गत १ असारमा सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्ट सत्तारुढकै सांसदहरुले सभापति देउवासँग संशोधनको माग राखेका छन् ।

सभापति देउवासँग उनीहरुले यथास्थितिमा बजेट पारित गर्न नसकिने अडान लिएको एक प्रदेशसभा सदस्यले बताए । बजेट संशोधनको माग राख्न कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरु देउवा निवास पुगेका थिए ।

सभापति देउवाले असन्तुष्ट प्रदेशसभा सदस्यहरुलाई पुरक बजेट ल्याएर माग सम्बोधन गरिने आश्वासन दिएको ती नेताले बताए ।

देउवालाई भेट्नु अगाडि असन्तुष्ट प्रदेशसभा सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल लगायतलाई भेटेर बजेट संशोधनको माग राखिसकेका छन् ।

केही प्रदेशसभा सदस्यले गत १२ असारमा पनि सभापति देउवालाई भेटेर बजेट संशोधन गरिनुपर्ने बताएका थिए ।

 

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्