अमेरिकामा विमान दुर्घटना, ६ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
क्यालिफोर्निया । असार २४, अमेरिकाको क्यालिफोर्निया एयरपोर्ट नजिकैको एउटा मैदानमा सानो विमान दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा भएको हो । उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरूको अझै सनाखत हुन सकेको छैन । रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो ।
आगलागीले व्यवसायिक जेट विमान पूरै जलेको थियो। दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ । अमेरिकाको संघीय नागरिक उड्डयन विभागले राष्ट्रिय यातायात सुरक्षा बोर्डको टोलीसँग यस हवाई दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।
सिएननको रिपोर्ट अनुसार सेस्ना सि ५५० विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। विमान लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सवा ३ बजे उडेको थियो, जुन क्यालिफोर्नियाको मुरिएटा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना पछिको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेका थिए ।