कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा ४ जनाको निधन

सहयात्रा टिभी

काठमाडौं । असार २६, कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ ।

सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो ।

निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए ।

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताए ।

नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

यसैगरी सोमबार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीया ममता रैदासको पनि सर्पको डसाइबाट निधन भएको छ ।

सर्पले डसेलगत्तै उहाँलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताए ।

सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीया अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो । दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उनलाई गोमन सर्पले डसेको थियो ।

गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा उपचारका क्रममा यादवको निधन भएको प्रहरी निरीक्षक शाहीले बताए ।

 

 

प्रकाशित : 11 July, 2023

प्रतिक्रिया दिनुहोस्