पोखराको हङकङ बजारको जग्गा ठेक्कामा नदीन व्यवसायीको माग

सहयात्रा टिभी

काठमाडौँ । असार २७, पोखराको हङकङ बजारका करिब ४ सय व्यवसायी विगत तीन महिनादेखि आन्दोलन गरी रहेका छन् ।

कृषि सामग्री कम्पनी स्वामित्वको करिब ७ सय रोपनी जग्गामा बनाइएको हङकङ बजारमा व्यवसाय गरिरहेका उनीहरु भाडा वृद्धि हुने भएपछि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरु कहिले महानगर घेराउ गर्न पुग्छन् त कहिले कृषि सामग्री कम्पनीको पोखरा कार्यालय ।

२०६९ फागुनमा खुलेको हङकङ बजारमा पोखराका फुटपाथ तथा खुला क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीलाई व्यवस्थापन गरिएको थियो । त्यतिबेला व्यवसायी नन्दप्रसाद तिवारीले कृषि सामग्रीको जग्गा भाडामा लिएर स्टल बनाई भाडा उठाउँदै आएका थिए ।

तर तिवारीसँगको ठेक्का सम्झौता २०७९ माघमा २९ गते सकिएपछि कृषि सामग्री कम्पनीले उक्त जग्गा भाडाका लागि टेण्डर आह्वान गरेपछि विवाद सुरु भएको हो ।

व्यवसायी तिवारीसँग मासिक २ लाख ४४४ हजार रुपैयाँ भाडा लिँदै आएको कम्पनीले गत चैतमा उक्त जग्गाको मासिक भाडा १२ लाख १५ हजार तोकेर टेण्डर आह्वान गरेको छ ।

हङकङ बजारमा २ वटा स्टलको मासिक ६ हजार ४०० भाडा तिर्दै आएका खुमन गिरी कम्पनीले जग्गाको भाडा अचाक्ली बढाएपछि आफूहरुको स्टलको भाडा पनि बढ्ने भएकाले आन्दोलन गर्नुपरेको बताउँछन् ।

हङकङ बजारका व्यवसायीले भाडा महंगो भएको भनेर आन्दोलन गरिरहे पनि कृषि सामग्री कम्पनीले भने त्यसबारे केही बोलेको छैन । उसले आफ्नो नयाँ टेण्डर प्रक्रिया कानुन अनुसार भएको भन्दै अन्य विषयलाई बेवास्ता गरेको छ ।

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्