एसीसी टिम्स कप : १० ओभरमै नेपालले गुमायो ६ विकेट

सहयात्रा टिभी

काठमाडौँ । असार २९, एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ विरुद्ध खराब सुरुवात गरेको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो १० ओभरमै ६ विकेट गुमाएको छ । नेपालले पहिलो १० ओभरमै महत्त्वपूर्ण ब्याटरहरू गुमाएको हो । नेपालले १० ओभरमा ४३ रन बनाएको छ ।

नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले १ रन मात्र बनाएर आउट भए । त्यस्तै आरिफ शेखले १२ रन बनाउँदा अर्जुन साउदले १७ रन बनाए । कप्तान रोहित पौडेल पनि सस्तैमा आउट भए । ४ बल सामना गरेका उनी ४ रनमै आउट भए । भीम सार्की रनको खाता नखोली पेभेलियन फर्किए । पवन सर्राफ पनि १ रनमै आउट भए ।

पाकिस्तान ‘ए’ का लागि साहनवाज दहनीले ४ र मोहम्मद वासिमले २ विकेट लिएका छन् । यस प्रतियोगितामा एसियाली क्षेत्रका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै ‘ए’ टोली पठाउने गरेका छन् भने एसोसिएटबाट छनोट भएर आउने राष्ट्रले राष्ट्रिय टोली पठाउँदै आएको छ ।

अप्रिलमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपमा शीर्ष तीन स्थान हात पार्दै नेपाल, यूएई र ओमान इमर्जिङ टिम्स कपलाई छनोट भएको थियो । तर यूएई र ओमानले पनि अनुभवी खेलाडीलाई आराम दिँदै आफ्नो ‘ए’ टोली पठाएको छन् ।

६ सातापछि पाकिस्तान र श्रीलंकाले आयोजना गर्ने एसिया कपअगाडि नेपालका लागि यो प्रतियोगिता राम्रो तयारीको रूपमा रहन सक्नेछ । एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

प्रकाशित : 14 July, 2023

प्रतिक्रिया दिनुहोस्