सोह्रखुट्टेबाट बरामद गरिएका ‘ब्रेक शु’बाट सुन झिकेको पाइयो

सहयात्रा टिभी

काठमाडौं । साउन १२, सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको छ ।

विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको हो ।

१००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन झिकेको पाइएको छ । समग्रमा ब्रेक शुबाट ७३२.६ केजी सुन झिकेको पाइएको छ । सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै छ ।

गोदामबाट बरामद गर्ने क्रममै सुन छुट्टयाएर तस्करले लगिसकेको अवस्थामा फुक्लेका ‘ब्रेक शु’ बरामद गरेको थियो । ती ‘ब्रेक शु’लाई ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको थियो ।
गोदामबाट ‘ब्रेक शु’बाट सुन पगाल्ने उपकरण दुई थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ ।

ब्रेक शु, सुन पगाल्न प्रयोग गरिने मेसिन र तौलिने तुलो बरामद गरिएको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए ।

 

 

 

प्रकाशित : 28 July, 2023

प्रतिक्रिया दिनुहोस्