बाह्रबिसेमा सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न दबाब
काठमाडौं । साउन १४, नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न दबाब परेको छ ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण थालिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युतको निर्माण अन्तिम चरणमा पुगेपछि सो आयोजनाबाट उत्पादित बिजुली जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको हो ।
मध्यभोटेकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् ।
मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरु निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ ।
बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन र सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माणमा ढिलाइ हुँदै आएको छ ।