सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला

सहयात्रा टिभी

काठमाडौं । साउन १४, रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् । ‘उहाँले लेखेको विवरणमा कसैलाई आक्षेप लगाइएको छैन, बुबाआमादेखि साथी सर्कलहरुलाई सम्झिइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी वृत्त, मालीगाउँमा उनी मृत भेटिएको भन्दै २१ असारको राति ११ बजे खबर पुगेको थियो ।

घटनास्थलमा पुगेका अधिकृतहरुका अनुसार, भित्र परिवारका अन्य सदस्य र प्रहरीको प्रवेश हुँदा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेको पाइएको एक अधिकृत बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरेको थियो । तर, त्यहीबीचमा नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकालेर ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरु बाहिर आएकाले त्यसबारे छानबिन गर्न माग गरेको थियो ।

ताम्राकारकी साथी २०११ की मिस नेपाल मलिना जोशीले के कारण उनले आत्महत्या गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी थिइन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उनले सोधकी थिइन्, ‘अन्तिम दिनहरुमा उनीसँग को–को थिए ? उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’

उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् । ‘के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? के उनलाई दुर्व्यवहार गरिएको थियो ? के उसलाई चोट पुर्‍याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ?’, उनले थपेकी छन् ।

उनले गरेको यो प्रश्नहरुलाई कला क्षेत्रका अरुले पनि शेयर गरेका छन् । त्यसपछि प्रहरीले घटनाका विभिन्न पाटोहरुमा अनुसन्धान गरिरहेको थियो । त्यहीबीच सारुकको मोबाइल जाँचमा ‘सुसाइड नोट’ भेटिएको हो ।

प्रकाशित : 30 July, 2023

प्रतिक्रिया दिनुहोस्