सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’महानगरले हटाउँदै

काठमाडौं । साउन १९, काठमाण्डौको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन शुरु गरिएको छ ।
काठमाण्डौ महानगरपालिका नगर प्रहरीको टोलीले वसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो ।
महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले वसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालिएको जानकारी दिनुभयो ।
काठमाण्डौ महानगरपालिकाले यो खोलामा झन्डै तीन किलोमिटर स्ल्याब हटाउन लागेको हो । अहिलेसम्म बसुन्धरादेखि चौकी, रानीबारी हुँदै रेडन पुलसम्मको स्ल्याब हटाइसकिएको र म्हैपी क्षेत्रको हटाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।
सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाण्डौ महानगरपालिकाले स्ल्याब हटाउन थालेको हो । खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरेर वृक्षारोपण गर्नेसमेत जनाएको छ । यही साउन ७ गते यो खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए । उनको शव बिहीवार हिजो मात्र फेला परेको थियो ।