माओवादी केन्द्रद्धारा संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय

सहयात्रा टिभी

काठमाडौं । साउन २२, नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयन गर्न पहल गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसका लागि प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्ता पक्षका नेताहरुसँग छलफल गर्ने निर्णय बैठकले गरेको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

आज दिउँसो एक बजे संसद बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । यही छलफलबाट समस्याको समाधान हुने माओवादी केन्द्रको विश्वास छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरे पनि सरकारले त्यसको आवश्यकता नभएको जनाएको छ ।

सुन तस्करी प्रकरणमा राजश्व छलीसँग सम्बन्धित विषय राजश्व अनुसन्धान विभागले र संगठित अपराधसँग सम्बन्धित विषय सीआईबीले अनुसन्धान गरिरहेकाले त्यसबाटै निचोडमा पुग्न सकिने माओवादी नेता पाण्डेको भनाइ छ ।

यसक्रममा सुशासनका जति पनि विषयवस्तु पनि छन् त्यसमा निर्दोष व्यक्ति पर्दैनन् र दोषी व्यक्तिले उन्मुक्ति पाउँदैनन् भनेर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले र उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैठकमा भनेको पाण्डेले जानकारी समेत दिए ।

 

प्रकाशित : 7 August, 2023

प्रतिक्रिया दिनुहोस्