लिम्बुवानलगायतको बन्दको आह्वानले पूर्वको जनजीवन प्रभावित

सहयात्रा टिभी

काठमाडौं । साउन २२, राष्ट्रिय जनमुक्ति पार्टीसहितको ६ दलले गरेको बन्दको आह्वानले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

लालमोहर दिवसको अवसरमा आज लालमोहर सन्धिको मर्मअनुसार अरुणपूर्वका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा जिल्लालाई लिम्बुवान राज्य बनाइनुपर्ने माग राख्दै बन्दको आह्वान गरिएको हो ।

बन्दले पूर्वका नौ जिल्लामा लामो तथा छोटो दूरीका यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रमलाई विभिन्न पहिचानवादी पार्टी र सङ्घ–सङ्गठनले ऐक्यबद्धता जनाउँदै सहयोग गरेका छन् ।
साउन २२ गते लालमोहर दिवस, तत्कालीन गोरखा राज्य र लिम्बुवानबीच सन्धि भएको ऐतिहासिक दिन हो ।

इतिहास अनुसार वि.सं.१८३१ साउन २२ गतेका दिन तत्काली किराँत लिम्बुवान राज्य स्वायत्तता र आत्मनिर्णयको अधिकार उपभोग गर्न पाउने गरी तत्कालीन गोरखा राज्यमा गाभिएको थियो । त्यहीँ सन्धिलाई वि.सं.१८३१ को लालमोहर सन्धि भनिन्छ ।

 

प्रकाशित : 7 August, 2023

प्रतिक्रिया दिनुहोस्