महानगर प्रहरी र कपनका स्थानीयबीच झडप

काठमाडौँ । साउन २५ , काठमाण्डौ महानगर प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । आज बिहीवार महानगरपालिकाले ७ नम्बर वडाको कपनमा खहरे खोला मिचेर बनेका भन्दै घरटहरा भत्काउन डोजरसहित गएपछि स्थानीय र नगर प्रहरीबीच झडप भएको हो ।
बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको नगर प्रहरीका डीएसपी मीनबहादुर थापाले बताउनुभयो ।
स्थानीयले विरोध गरेपछि अहिले डोजर भने चल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिकाका स्थानीयले भने वर्षाको समयमा डोजर आतङ्क गरेको भन्दै महानगरविरुद्ध नाराबाजी गरिरहेका छन् । महानगर प्रहरी बलका निरीक्षक ईश्वर वाग्लेले भने बूढानीलकण्ठका मेयरसँग समन्वयन गरेरै डोजर गएको बताउनुभएको छ ।