भक्तपुर घुम्न आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं । साउन २६, भक्तपुर घुम्न आउने पर्यटकको संख्या बढेको छ । गत आर्थिक वर्ष २०७९/८० मा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् ।
२०७८/७९ मा भन्दा २०७९/८० मा भक्तपुर पुग्ने पर्यटक १ लाख १४ हजार ९२ जना बढी छन् । आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा जम्मा ५३ हजार ५६० जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए ।
गत आर्थिक वर्षमा भक्तपुर भ्रमण गर्नेमा ८६ हजार ३ सय ३४ जना (गैरसार्क) र ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) छन् ।
सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ ।
जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ ।