अविरल वर्षाका कारण तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । साउन २८, अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
गए रातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज इलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवन, नुवाकोट रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, बागलुङ, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी, सुर्खेत, दैलेख, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान गरिएको छ ।
साथै, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भई बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।