शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीको जिम्मेवारी खोसियो

सहयात्रा टिभी

काठमाडौँ । भदौ ४, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा। मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।

शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ । उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो ।

प्रकाशित : 21 August, 2023

प्रतिक्रिया दिनुहोस्