कैलालीमा देखिने डल्फिनले पर्यटन व्यावसायमा जोड
काठमाडौँ । भदौ ६, कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा डल्फिन देखिने गरेको स्थानियबासीले जानकारी दिएका छन ।
बर्खा लागेपछि कैलालीको टीकापुर-७ स्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा दैनिक डल्फिन देखापरिरहेका छन् । नदीमा साँझ र बिहानको समयमा साना र ठूला डल्फिन देखिने गरेका छन् ।
बर्खाको यो समयमा ढुङ्गानाटोलमा दैनिक सर्वसाधारण डल्फिन हेर्नकै लागि आउने गरेका छन् । त्यसले पर्यटन व्यावसायमा जोड दिने स्थानियको बुझाइ छ ।
डल्फिन अवलोकन गर्न स्वदेशीदेखि विदेशी नागरिकसमेत आउने गरेका स्थानीय संरक्षणकर्मी बताउँछन् ।
हरेक वर्ष विदेशी पर्यटक पनि डल्फिन हेर्नका लागि यहाँ आउने गरेका डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गाना बताउँछन् । डल्फिन अवलोकनका लागि त्यहा भ्यूटावर र प्रतिक्षालय बनाइएको बताउछन् ।
डल्फिन अवलोकन क्षेत्रसम्म जाने सडकलगायतका पूर्वाधार स्थानीय सरकारले निर्माण गरिदिएको छ । बर्खामा डल्फिन बढी देखिने भएकाले संरक्षण नेपालले सप्ताहव्यापी प्रचार-प्रसारका लागि कार्यक्रम गर्ने भएको छ ।
भदौ दोस्रो सातादेखि सप्ताहव्यापी कार्यक्रम हुँदैछन् । बर्खामा याममा देखापर्दै आएका डल्फिन संरक्षण, प्रवर्द्धन, प्रचार आवश्यक रहेको स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको भनाइ छ ।