वुमन्स टी-२० चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी
काठमाडौँ । भदौ ६, आइसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।
मलेसियामा भएको खेलमा नेपालले आज कुवेतलाई ३४ रनले पराजित गरेको छ । नेपाललाई जिताउन इन्दु बर्माको अलराउन्डर प्रदर्शन रह्यो ।
उनले ब्याटिङमा १९ बलमा २ चौका सहित २३ रन बनाइन् भने बलिङ तर्फ ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् ।
बायोमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
ओपनर पुजा महतो डकआउट हुँदा अर्की ओपनर बिन्दु रावलले २० रन जोडिन् । नेपालका लागि डेब्यु गरेकी स्पिनर खुशी डंगोलले ३ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले एक एक विकेट लिए ।
नेपालले सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा २ जितका साथ ४ अंक बटुली शिर्ष स्थानमा रहेको छ । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।