पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका उम्मेदवार दीपकलाई

सहयात्रा टिभी

काठमाडौँ । भदौ १०, सत्तारुढ माओवादी केन्द्र आफूले पाएको एउटा संसदीय समितिको सभापति राप्रपालाई छाडेको छ ।

 

माओवादी केन्द्र र राप्रपाबीचको सहमतिअनुसार पूर्वाधार विकास समितिको सभापतिमा दीपक सिंह उम्मेदवार बनेका छन् । माओवादीका तर्फबाट सभापतिका उम्मेदवार माधव सापकोटा चाहिँ सिंहको प्रस्तावक बनेका छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागवण्डामा माओवादीले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । माओवादी केन्द्रबाट सापकोटा पूर्वाधार विकास र विमला सुवेदी कानुन समितिको सभापतिको उम्मेदवार बन्ने तय भइसकेको थियो ।

तर राप्रपा नेताहरुले प्रधानमन्त्रीलाई भेटेर एउटा समितिको सभापति आफूले पाउनुपर्ने बताएका थिए । राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संसदको पाँचौ दल भएकाले एउटा समितिको नेतृत्व पाउनुपर्ने बताए ।

प्रधानमन्त्री त्यसमा सहमत भए । राप्रपाले पूर्वाधार विकास समितिको सभापति लिने सहमति भयो । राप्रपाले मकवानपुर १ बाट निर्वाचित दीपक सिंहलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो । माओवादीबाट सभापतिको उम्मेदवार बन्ने तय भएका सापकोटा चाहिँ सिंहको प्रस्तावक बसेका छन् ।

 

प्रकाशित : 27 August, 2023

प्रतिक्रिया दिनुहोस्