विद्युत् प्रसारण प्रणालीमा ९ वर्षमा ३११८ किलोमिटर सर्किट थपियो

काठमाडौँ । भदौ १०, नेपालको विद्युत् प्रसारण प्रणालीमा विगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ ।
लोडशेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विस्तार र सुधारलाई व्यापक रूपमा अगाडि बढाएको छ ।
प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेशन आयोजनाहहरूको निर्माण गरिरहेको छ । विद्युत् गृहहरूबाट उत्पादित बिजुली ग्राहकको घरसम्म पुर्याउन प्रसारण तथा वितरण लाइन र सबस्टेशनहरुको आवश्यकता पर्दछ ।
विगत नौ वर्षमा ग्रिड सबस्टेशनहरूको क्षमता आठ हजार आठ सय ६७ एमभीए पुगेको छ । नौ वर्षअघि अर्थात् आर्थिक वर्ष (आव) २०७१/७२ मा सबस्टेशनहरूको क्षमता दुई हजार एक सय ३२ एमभीए रहेकोमा आव २०७९/८० मा आइपुग्दा सबस्टेशनहरूको क्षमता छ हजार सात सय ३५ एमभीए बढेको हो । आव २०७१/७२ मा ६६ र १३२ केभी बाट विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइनहरू सञ्चालनमा छन् ।
विभिन्न क्षमताका १० हजार चार सय ६९ एमभीए क्षमताका सबस्टेशनहरू निर्माणाधीन छन् भने १५ हजार पाँच सय ६४ एमभीए क्षमताका सबस्टेशनहरू निर्माण प्रस्ताव गरिएको छ ।