बैठकमा प्रधानमन्त्री प्रचण्डसँग १२ जना सांसदहरूले प्रश्न सोध्ने

काठमाडौँ । भदौ १२, सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदको प्रश्नोत्तर भइरहेको छ ।
सांसदले सोधेका विभिन्न प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहनुभएको छ । बिहान ११ बजेदेखि शुरू भएको बैठकमा आज १२ जना सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।
यसैबीच, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ ।
माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताउनुभयो । उहाँले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको र अभियान नरोकिने पनि दाबी गर्नुभयो ।