पहिलो दिन भैरहवाबाट दिल्ली र हङकङका यात्रुबिना नै उडान सुरू

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली र हङकङको लागि उडान सुरू गरेको नेपाल एयरलाइन्सले पहिलो दिन दिल्ली र हङकङका यात्रुबिना नै उडान गरेको छ।

उडानको पहिलो दिन मंगलबार नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र हङकङ जाने कुनै पनि यात्रु पाउन नसकेको जनाएको छ।

नेपाल एयरलाइन्सले काडमाडौंलाई ट्रान्जिट बनाएर उडान सुरू गर्न लागेको भन्दै सोमबारदेखि मात्रै टिकट बुकिङ खुला गरेको थियो। तर पहिलो दिनको उडानमा दिल्ली र हङकङ जाने कुनै पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ।

नेपाल एयरलाइन्सका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख माधव लोहनीले सोमबारदेखि मात्र टिकट बुकिङ खुला भएकाले टिकट काट्ने यात्रु नभएको र सिस्टममा समेत केही समस्या भएकोले मंगलबार काठमाडौं ट्रान्जिट भएर जाने यात्रु नभएको बताए।

नेपाल एयरलाइन्सले झण्डै तीन महिनादेखि मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएको छ।

राष्ट्रिय ध्वजावाहकले साप्ताहिक रूपमा मलेसियाको क्लालालम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौं जाने गरेको छ। यसअघि मलेसियाबाट आएका यात्रुलाई भैरहवामा झार्ने बाहेक भैरहवाबाट यात्रु चढाउने गरेको थिएन।

मंगलबारदेखि मलेसियाबाट आउने सोही जहाजमा हङकङ र दिल्ली जान पाउने गरी उडान सुरू गरे पनि गन्तव्यमा जाने एउटा पनि यात्रुले टिकट नकाटेको एयरलाइन्सले जनाएको छ।

पहिलो दिन गन्तव्यमा जाने यात्रु नभए पनि अर्को ट्रान्जिट उडान सेप्टेम्बर ५ अर्थात् यही भदौ १९ गते हुनेछ। सो दिनको टिकट बुकिङ गर्दा काठमाडौंबाट हङकङको लागि इकोनमी तर्फको भाडादर ५१ हजार ५ सय ५१ तोकिएको छ।

एयरलाइन्सका अनुसार भैरहवाबाट काठमाडौं जाँदा थप २ हजार शुल्क तिर्नुपर्छ। त्यो समेत जोड्दा भैरहवाबाट हङकङका लागि ५३ हजार ५५१ रुपैयाँ भाडादर तोकिएको छ।

त्यस्तै विजनेस क्लासमा २ हजार थप समेत गरी भैरहवादेखि हङकङका लागि १ लाख १ हजार १४ रुपैयाँ टिकट दर तोकिएको छ।

सेप्टेम्बर ५ कै लागि काठमाडौंबाट दिल्ली उडान गर्दा इकोनमी क्लासमा ११ हजार २२७ रहेकोमा भैरहवादेखि काठमाडौंसम्मको थप २ हजार गरी १३ हजार २२७ रुपैयाँ तोकिएको छ।

एयरलाइन्सले हरेक मंगलबार बिहान ८ः१५ मा मलेसियाबाट भैरहवा आउने र यात्रु झार्ने र चढाउने गरी काठमाडौं जानेछ।

पहिलो दिन भने निर्धारित समयभन्दा केही ढिलो गरी ९ बजे मात्रै भैरहवा अवतरण गरेर जहाज काठमाडौंका लागि उडेको थियो।

काठमाडौं ट्रान्जिट भएर जाने यात्रुले हङकङका लागि करिब २ घण्टा र दिल्लीका लागि करिब ३ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएर सोही जहाजमा गन्तव्यमा जानुपर्ने हुन्छ।

 

प्रकाशित : 29 August, 2023

प्रतिक्रिया दिनुहोस्