विश्वासको मत संविधानसम्मत रहेको कोशी सरकारको दाबी

सहयात्रा टिभी

काठमाडौँ । भदौ १३, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मत संविधानसम्मत रहेको दाबी गर्दै सरकारले बुधबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्।

 

 

प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालका अनुसार सरकारले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिएको तर्क पेश गर्दै उक्त धारा अनुसार बैठकको अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न मिल्ने बताएको हो।

‘यसमा उहाँहरू (रिट दायरकर्ता एमाले) ले १८६ को प्रतिबन्धात्मक वाक्यांश अनुसार मतदान गर्न पाइन्न भन्नुभएको छ’, कटुवालले भने ‘सरकारले धारा १८८ अनुसार विश्वासको मत लिएको हो। यो धाराअनुसार बैठकको अध्यक्षता गर्नेले मतदान गर्न पाइन्छ भन्ने हाम्रो जवाफ छ।’

भदौ ४ मा मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए। उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं गएपछि सत्ता पक्षकै सांसद इस्राइल मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए। उनले मुख्यमन्त्रीलाई मतदान पनि गरेपछि एमाले नेता हिक्मत कार्की अदालत गएका थिए।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन निर्णय नगर्न भनेको थियो।

भदौ १५ बाट पूर्ण सुनुवाइ हुने मुद्दाबारे सरकारले बुधबार सर्वोच्चलाई लिखित जवाफ पेश गरेको हो।

 

प्रकाशित : 30 August, 2023

प्रतिक्रिया दिनुहोस्