नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माणमा चीनको सहयोग माग्ने

सहयात्रा टिभी

काठमाडौँ । भदौ १४, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा–छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने भएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

यातायातसम्बद्ध विभिन्न एजेन्डामध्ये यो विषयलाई सरकारले बढी प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको बजेटमा यो सुरुङमार्ग निर्माणका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले एक अर्ब बजेट छुट्याएका छन् ।

तर, चीनसँगको नाका केरुङ लक्षित यो सुरुङमार्ग कस्तो डिजाइन र प्रविधिमा बन्ने भन्ने तय हुन भने बाँकी छ ।

असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो ।

चीनसँगको समझदारी अनुसार सुरुङमार्गको डीपीआर बनाउन लाग्ने अध्ययन खर्च चीनले नै ब्यहोरिरहेको छ ।

प्रकाशित : 31 August, 2023

प्रतिक्रिया दिनुहोस्